काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ स्थित विष्णुदेवी भिलेज क्षेत्रमा संचालन भइरहेको सडक स्तरोन्नति योजनामा आशंका देखिएपछि नगरपालिकाले पुनः स्थलगत अनुगमन गरेको छ । प्रारम्भिक अनुगमनमा घरअगाडि सार्वजनिक सडक अतिक्रमण हुने गरी निर्माण गरिएका र्याम्प हटाउन निर्देशन दिइएको भएपनि वास्तविक रूपमा निर्देशन पालना नभएको पाइएको छ ।

नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा गरिएको पछिल्लो निरीक्षणका क्रममा निर्माण समितिले पेश गरेको विवरण र स्थलको वास्तविक अवस्था बीच फरक देखिएको नगर उपप्रमुख बसन्ती श्रेष्ठले जानकारी दिनुभयो । समितिले सडकमा रहेका र्याम्प हटाइएको भन्दै तस्बिर उपलब्ध गराएको थियो । तर, स्थलगत निरीक्षणका क्रममा कतिपय स्थानमा र्याम्प सामान्य रूपमा मात्र भत्काइएको, केही स्थानमा पुनः निर्माण गरिएको तथा सार्वजनिक सडकको स्वरूपमा अपेक्षित सुधार नआएको पाइएको छ ।

उपप्रमुख श्रेष्ठले सार्वजनिक पूर्वाधार निर्माणमा पारदर्शिता र मापदण्डको पालना अनिवार्य रहेको बताउँदै वास्तविक अवस्था लुकाएर भुक्तानी प्रक्रिया अगाडि बढाउन खोजिए त्यसलाई स्वीकार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्माण कार्य सम्झौता, प्राविधिक मापदण्ड र सार्वजनिक हितअनुसार सम्पन्न नभएसम्म भुक्तानी प्रक्रिया अघि नबढ्ने चेतावनी दिनुभएको छ ।

वडा कार्यालयबाट विनियोजित १० लाख ५० हजार रुपैयाँ लागतको उक्त सडक स्तरोन्नति योजनाको सम्झौता २०८२ मंसिर १० गते गरिएको थियो । निर्माण समितिले वास्तविक रूपमा निर्देशन कार्यान्वयन गरेको पुष्टि नभएसम्म योजनाको अन्तिम भुक्तानी प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय