यस वर्षको लक्ष्मीपूजाका दिन नेपालको विद्युत्को उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हिजो साँझ साढे ६ बजे विद्युत्को उच्चतम माग रेकर्ड गरिएको हो। उक्त समयमा देशभर कुल २ हजार ४०० दशमलव ३० मेगावाट विद्युत् उत्पादन भएको थियो। उत्पादनमध्ये ५८७ दशमलव ३० मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ।
लक्ष्मीपूजाका दिन निजी क्षेत्रका आयोजनाबाट १ हजार ५३६ दशमलव ५० मेगावाट विद्युत् उत्पादन भएको थियो। त्यस्तै, प्राधिकरणका सहायक कम्पनीबाट ४९९ दशमलव २० मेगावाट, नदी प्रवाहमा आधारित तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ दशमलव ३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२ दशमलव ३० मेगावाट विद्युत् उत्पादन भएको थियो। यसैगरी, लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकाको विद्युत् माग ४८९ दशमलव ५० मेगावाट पुगेको थियो।



गत वर्षको तुलनामा यस वर्ष राष्ट्रिय विद्युत् माग बढेको देखिएको छ। गत वर्ष ०८२ कात्तिक ३ गते परेको लक्ष्मीपूजाका दिन विद्युत्को उच्चतम माग १ हजार ७४५ मेगावाट थियो। त्यतिबेला कुल विद्युत् उत्पादन २ हजार ७६० मेगावाट पुगेको थियो भने १ हजार १५ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो। गत वर्ष काठमाडौं उपत्यकाको विद्युत् माग ४०२ दशमलव ४९ मेगावाट रहेको थियो। यस वर्ष उपत्यकाको मागसमेत उल्लेख्य रूपमा वृद्धि भएको छ।



