काठमाडौं – लगातारको वर्षासँगै आएको पहिरो, बाढी र लेदोका कारण देशका विभिन्न प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले कतिपय सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ भने केही स्थानमा पहिरो हटाउने काम भइरहेको सम्बन्धित जिल्ला प्रशासन तथा प्रहरीले जनाएका छन्। चितवनमा मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खसिरहेको र सडक खुलाउने काम भइरहेकाले अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन रोकिएको हो।

वर्षाका कारण पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई अवस्था सामान्य नभएसम्म उक्त सडकखण्डतर्फ यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। पहिरो हटाएपछि सडकको अवस्था हेरेर सवारी सञ्चालनबारे निर्णय गरिने जनाइएको छ। यसैगरी धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ। गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्गमा यातायात प्रभावित भएको हो। लगातारको वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्गमा सवारी सञ्चालन रोकिएको थियो।

राजमार्गमा आज बिहान ५ बजेदेखि सवारी सञ्चालन गर्ने तयारी भए पनि विभिन्न स्थानमा पहिरो खसेका कारण यातायात सहज हुन सकेको छैन। धादिङ जिल्लाभित्र पृथ्वी राजमार्गअन्तर्गत कम्तीमा सात स्थानमा पहिरो खसेको जनाइएको छ। पहिरो खसेका स्थानमा कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिर रहेका छन्। ती स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै यात्रु तथा सवारीसाधन जोखिममा परेका छन्। सडक खुलाउन सम्बन्धित निकायले पहिरो पन्छाउने काम गरिरहेका छन्।

यता, वर्षापछि आएको पहिरो र लेदोका कारण काभ्रेपलाञ्चोक खण्डमा बीपी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडा, रोशी गाउँपालिका–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी–११ को माम्तीमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो। बीपी राजमार्ग अवरुद्ध भएपछि उक्त सडक हुँदै आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। वर्षा नरोकिएकाले थप पहिरो खस्न सक्ने सम्भावनासमेत रहेकाले सडक खुलाउने काममा चुनौती देखिएको छ।

यसैबीच, काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पानीको सतहसमेत बढेको छ। पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने स्थानमा सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। लगातारको वर्षाका कारण कान्ति लोकपथ पनि पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। सडकमा खसेको पहिरो र लेदोका कारण यातायात सञ्चालनमा समस्या आएको हो। सडक खुलाउन सम्बन्धित निकायले आवश्यक काम अघि बढाइरहेका छन्।

यस्तै, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डको भोटखोला क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको हो। देशका विभिन्न राजमार्गमा एकैपटक पहिरो र बाढीका कारण यातायात प्रभावित भएपछि लामो दूरीका यात्रु तथा मालवाहक सवारीसाधनसमेत समस्यामा परेका छन्। सडक खुलाउन सम्बन्धित निकायले पहिरो हटाउने तथा सडकको अवस्था निरीक्षण गर्ने काम गरिरहेका छन्। वर्षा जारी रहेकाले पहिरो तथा बाढीको जोखिम अझै कायम रहेको प्रशासनले जनाएको छ। सडकमा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय