काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा लगातार दुई खेल गुमाएपछि नेपाल शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने लक्ष्यमा थप दबाबमा परेको छ। नेपालले पहिलो खेलमा नामिबियासँग तथा दोस्रो खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग पराजय बेहोरेपछि अंकतालिकामा पाँचौं स्थानमा झरेको छ। ३० खेलबाट २४ अंक जोडेको नेपाल अब शीर्ष चारमा पुग्न बाँकी रहेका सबै खेल जित्नुपर्ने अवस्थामा पुगेको छ। यद्यपि सबै खेल जिते पनि अन्य टोलीको नतिजामा निर्भर रहनुपर्ने अवस्था बनेको छ।

हाल अंकतालिकामा अमेरिका ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहँदा स्कटल्यान्ड ३८ अंकसहित दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ३६ अंकका साथ तेस्रो तथा ओमान ३१ अंकसहित चौथो स्थानमा छन्। नेपालसँग समान २४ अंक भए पनि क्यानडाले दुई खेल कम खेलेको छ भने नामिबियासँग पनि नेपालभन्दा अगाडि उक्लिने अवसर बाँकी छ।

नेपालले अब जारी शृङ्खलामा नामिबिया र नेदरल्यान्ड्ससँग एक–एक खेल खेल्न बाँकी छ। त्यसपछि अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग दुई–दुई खेल खेल्नेछ। शीर्ष चारमा स्थान सुरक्षित गर्न नेपालले अबका सबै ६ खेल जित्नुपर्ने चुनौती रहेको छ।

जारी शृङ्खलामा नेपालको सबैभन्दा ठूलो कमजोरी ब्याटिङ बनेको छ। नामिबिया र नेदरल्यान्ड्सविरुद्ध दुवै खेलमा नेपाल १५७ रनमै अलआउट भयो। शीर्षक्रमका ब्याटरले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा मध्यक्रममाथि अत्यधिक दबाब परेको देखिएको छ। यद्यपि बलिङतर्फ नेपालले केही प्रभावशाली प्रदर्शन गरेको छ। नेदरल्यान्ड्सविरुद्ध १५८ रनको सामान्य लक्ष्य रक्षा गर्ने क्रममा घरेलु टोलीलाई ७४–४ को अवस्थामा पुर्‍याए पनि त्यसपछि साझेदारी तोड्न नसक्दा नेपाल पराजित भयो।

क्रिकेट विश्वकप लिग–२ का सबै खेल सकिएपछि शीर्ष चार टोलीले सिधै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् भने एकदिवसीय मान्यता पनि सुरक्षित हुनेछ। त्यसैले नेपालका लागि अबका प्रत्येक खेल गर या मरु को अवस्थामा पुगेका छन्। शीर्ष चारमा पर्न नसके नेपालले विश्वकप छनोटका लागि थप कठिन प्लेअफ चरण पार गर्नुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय