काठमाडौं । महाँकाल स्थान सामुदायिक वन उपभोक्ता समूहमा वृक्षारोपण गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ र कल्पवृक्ष सेवा समाज धापासीको सहयोगमा महाँकाल स्थान सामुदायिक वन उपभोक्ता समूहमा वृक्षारोपण गरिएको हो । करिब १० रोपनी क्षेत्रफलमा लप्सी, ओखर, एबोकाडो, दालचिनीलगायत १ सय ५० वटा भन्दाबढी विरुवा रोपिएको छ । चन्द्रागिरि नगरपालिकालाई लप्सीको हबको रुपमा विकास गर्ने उद्देश्यअनुरुप महाँकाल स्थान सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा १० हजार लप्सीको विरुवा रोप्ने लक्ष्य लिएको छ ।

महाँकाल स्थान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष निराजन महतले लप्सी उत्पादनको लागि यो क्षेत्रको मौसम र भूगोल सुहाउँदो भएकाले पनि लक्ष्य पुरा हुने बताउनु हुन्छ । साथै उहाँले पाँच वर्षपछि एउटा विरुवाबाट २० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिने दाबी गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष शम्भु केसीले रोपिएका सम्पूर्ण विरुवाको जिम्मेवारी वडाले लिने र प्रतिफल नआउँदासम्म वडाले नै संरक्षण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यसैगरी महादेवस्थान मातातीर्थ खानेपानी उपभोक्ता समितिका कार्यबहाक अध्यक्ष यलबहादुर महर्जनले वृक्षारोपण गरिएको क्षेत्र खानेपानी उपभोक्ता समितिको परिसर भित्र परेकोले गोडमेल देखि रेखदेखसम्मको सम्पूर्ण जिम्मेवारी उपभोक्ता समितिले नै लिने बताउनु भयो ।

वृक्षारोपणको लागि विरुवा उपलब्ध गराएको कल्पवृक्ष सेवा समाजका अध्यक्ष भिमनाथ गौतमले समाजले वातावरणका साथै अनाथ, असाहाय व्यक्तिहरुको लागि पनि काम गर्दैआएको बताउनु भयो ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरु, वन उपभोक्ता समितिका सदस्यहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, कल्पवृक्ष सेवा समाजका पदाधिकारीहरु र स्थानीयको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय