दाङ, २१ साउन— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही–भालुवाङ सडक खण्डको पाखापानी क्षेत्रमा स्थानीयले सडकको दयनीय अवस्थाप्रति सरकारी निकायको ध्यानाकर्षण गराउन अनौठो विरोध प्रदर्शन गरेका छन्। राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका युवाहरूले सडकको बीचमै केराको बिरुवा रोपेर सडक मर्मतको माग गरेका हुन्।


नियमित वर्षाका कारण सडकका खाडलमा पानी जमेपछि दुर्घटनाको जोखिम बढेको र पैदल हिँड्न समेत समस्या भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। स्थानीय भिसुन शाहीका अनुसार सडकका ठूला खाडलका कारण सवारी दुर्घटना बढेको, धेरैले ज्यान गुमाउनु परेको र साइकल तथा पैदल यात्रुलाई यात्रा गर्न कठिन भएको छ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको बेहाल
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा पर्ने यो मुख्य राजमार्गको अवस्थाप्रति कसैले पनि ध्यान नदिएको भन्दै स्थानीयले निराशा व्यक्त गरेका छन्। सडक विभाग र यस राजमार्ग हुँदै ओहोरदोहोर गर्ने मन्त्री तथा राजनीतिक दलहरूको ध्यान केन्द्रित गर्न यो प्रतीकात्मक विरोध गरिएको शाहीले बताए।
सडकमा क्षमताभन्दा बढी भार बोकेका सवारी साधनका कारण खाडलहरू थप बिग्रिएको र वर्षाको पानी जम्दा दुर्घटनाको जोखिम अझ बढेको स्थानीयको भनाइ छ। यस घटनाले सडक मर्मत र सुरक्षाको आवश्यकतालाई उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय