काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३ अन्तर्गत इमाडोलदेखि बोझेपोखरी जोड्ने भित्री सडक भासिएको छ । नयाँ पुल हुँदै काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण सडकखण्डमा करिब ३ मिटरको ठूले भ्वाङ बनेपछि सुरक्षाका दृष्टिले उक्त मार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले सडकको बीच भागमा गहिरो भ्वाङ देखिएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल यातायात बन्द गरिएको जानकारी दिनुभयो । घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ भने सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।



प्रारम्भिक रूपमा अविरल वर्षासँगै भूमिगत संरचनामा आएको समस्याले सडक भासिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, सडक भासिनुको वास्तविक कारण प्राविधिक परीक्षणपछि मात्र यकिन हुने सम्बन्धित निकायले जनाएको छ ।
सडक भासिएपछि स्थानीयवासी तथा दैनिक रूपमा उक्त मार्ग प्रयोग गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ । सम्बन्धित निकायले क्षतिग्रस्त सडकको मर्मत, भ्वाङको कारण पहिचान तथा सुरक्षित रूपमा यातायात पुनः सञ्चालन गर्ने तयारी अघि बढाइरहेको जनाएको छ ।



