लहान नगरपालिकाको राजाजी डाँडा पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । नगरपालिकाको १६ नम्बर वडामा रहेको राजाजी डाँडा धार्मिक स्थलमा त्र नभई एक ऐतिहासिक चेतनाको प्रतीक पनि हो ।

स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ । सयौं वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभागी हुन्छन् ।

पौराणिककालमा यस डाँडामा राजाको दरबार रहेको र यहीबाट राजकाज सञ्चालन हुने भन्ने विश्वास रहेको छ । लहान–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले राजा सलहेस, वस्तुतः त्यही दरबारका प्रधानमन्त्री थिए । ‘सलहेसका गुरु नै राजाजी थिए । जसको नाममा आज यो डाँडालाई चिनिन्छ । यही भाष्य नै जनमानसमा व्याप्त रहेको छ । यसलाई विश्वास पनि गरिन्छ र त्यसको विश्वासिलो आधार पनि भेटिन्छ ।’

स्थानीयले यो डाँडामा इँटाका ठूलाठूला पर्खाल रहेको जुन सयौंं वर्ष पुरानोे भएको बताउँछन् । त्यस्ता इँटा संरक्षणको अभावमा दिनप्रतिदिन जीर्ण हुँदै गएको छ । राजाजी डाँडाको संरचना, सलहेससँगको सम्बन्ध र यसको पुरातात्विक सम्भावनाले यसलाई केवल सिराहा जिल्लाको मात्र नभई सम्पूर्ण तराईको सांस्कृतिक र ऐतिहासिक धरोहर बन्न सक्नेछ । लहानस्थित पूर्वपश्चिम राजमार्गबाट करिब १५ किलोमिटर उत्तर चुरे क्षेत्रको उच्च बिन्दुमा अवस्थित राजाजी डाँडाबाट सिराहा, सप्तरी र उदयपुरका विभिन्न भू–भागका समथल फाँट र भूदृश्यहरूको मनोरम दृश्य देख्न सकिन्छ । यहाँबाट देखिने हरियाली, खेतबारी, गाउँबस्ती र फाँटहरूको समिश्रित दृश्यले जोकोहीलाई मोहित तुल्याउँछ ।

राजाजी डाँडा एक स्थान, अनेक सम्भावना बोकेको थलो बनेको छ । राजाजी डाँडा धार्मिक आस्था, ऐतिहासिक गौरव, सांस्कृतिक धरोहर र प्राकृतिक सौन्दर्यको अनुपम संगम भएको छ ।

सलहेस फूलबारी

प्रेमको प्रतीक भई नयाँ वर्षका दिन मात्र फुल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्र सलहेस फूलबारीमा वैशाख १ गते भव्य मेला लाग्ने गर्दछ । लहान नगरपालिका वडा नं १२ र २२ मा पर्ने यस फूलबारीमा हरेक वर्ष वैशाख १ गते फुल्ने सुनाखरी फूललाई सलहेस बाबा र मालिनीको मिलनको प्रतीक मानिन्छ । ।

पकडियागढ

लहान नगरपालिका–१८ मा अवस्थित पकडियागढ ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्णस्थल हो, जुन सलहेस सर्किटअन्तर्गत पर्दछ । हरेक वर्ष वैशाख २ गते यहाँ लाग्ने मेलामा नेपालका विभिन्न भूभागसहित छिमेकी भारतबाट पनि हजारौँ दर्शनार्थी भेला हुने गर्छन् ।

देवीदह

लहान नगरपालिका–१७ मा अवस्थित एक ऐतिहासिक, प्राकृतिक र धार्मिक दृष्टिले पूजनीय स्थान हो देवीदह । पूर्वपश्चिम राजमार्गबाट करिब ६ किलोमिटर उत्तरमा रहेको यो दह सिराहा र सप्तरीलाई छुट्याउने बलान नदी किनारमा पर्छ ।

मानिक दह

लहान नगरपालिका–२४ मा अवस्थित मानिक दह केवल प्राकृतिक जलासयमात्र होइन, सलहेस सर्किटअन्तर्गत पर्ने एक प्राचीन धार्मिक तीर्थस्थल हो । जुन विशेषतः सलहेससँग जोडिएको पौराणिक विश्वासका कारण स्थानीय जनजीवनमा गहिरो आस्था बोकेको छ ।

राजदेवी मन्दिर

नगरपालिकाको १५ नं वडामा अवस्थित राजदेवी माताको मन्दिर भाकल पूरा गर्ने भगवती देवीस्थानको रूपमा परिचित छ । वैशाख पूर्णिमाका दिन बोकासहित चार प्रकारका पशुपन्छीको बलि दिइन्छ, जसमा १० हजारदेखि २० हजार बोकासम्म बलि दिने चलन छ ।  उक्त मन्दिरमा बली चढाए भाकल पूरा हुने जन विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय