काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धनुषा जिल्लाबाट दुई जना भारतीय नागरिकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । पक्राउका क्रममा उनीहरू भाग्न खोजेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरेको जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको प्रहरी टोलीले धनुषाको मिथिला नगरपालिका–६ क्षेत्रमा भारतबाट नेपालतर्फ लागुऔषध बिक्री–वितरण गर्न ल्याइएको सूचनाका आधारमा निगरानी गरेको थियो । सो क्रममा शंकास्पद दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू भाग्न प्रयास गरेपछि प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको हो ।



प्रहरीका अनुसार पक्राउ परेकाहरू भारत, मधुबनी जिल्ला निवासी २८ वर्षीय सन्तोष कुमार महतो र ४५ वर्षीय मिथिलेश साहु छन् ।
उनीहरूको साथबाट खैरो हेरोइन ९५ ग्राम ५१० मिलिग्राम, दुई थान मोबाइल फोन, एक थान भारतीय आधार कार्ड तथा एक थान भारतीय सवारी चालक अनुमति पत्र बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केवर, धनुषामा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जानकारी दिएको छ ।



