काठमाडौं । साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो बढेको छ ।
साउने सङ्क्रान्तिका दिन बिहान झरीकाबीच पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लामो लाइन लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनामा धेरै भक्तजन पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि जाने गर्छन् ।



पशुपतिनाथ र शिवालयमा हरियो एवं रातो पहिरनमा सजिएका महिलाको विशेष उपस्थिति देखिन्छ । साउनमा पशुपतिनाथ आउने भक्तजनका लागि सहज रुपमा दर्शन गराउने सुविधा दिने उद्देश्यले पशुनपति क्षेत्र विकास कोषले विभिन्न तयारी अघि बढाएको छ ।
पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका शिवालयमा पनि भक्तजनको लर्को देखिएको छ ।



