काठमाडौं । ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी काठमाडौं उपत्यकामा सवारी चलाउने ६ जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडांैको सुकेधारामा ट्राफिक प्रहरीले संचालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी चलाएका छ जना चालकलाई नियन्त्रणमा लिएको हो ।



ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले नियन्त्रणमा लिइएकाहरूमा पठाओ मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरजकुमार बजगाईँ, भाडाबस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएकाहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरी मापद पदार्थ र लागुपदार्थलगायतका चेकजाँचमा सधै सक्रिय रूपमा खटिरहेको छ ।
उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले सार्वजनिक सवारीसाधन चलाउने चालकले धेरै व्यक्ति बोकेको हुनाले मापसे, लापसे गरी सवारी चलाए धेरैको ज्यान जोखिममा पर्न सक्ने हुँदा उक्त कार्य नगर्न र अवज्ञा गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिनुभयो ।



