काठमाडौँ — भारतका विदेश सचिव विक्रम मिश्रीले भदौ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणका लागि निमन्त्रणा दिए पनि त्यसको मिति प्रष्ट गरिएको थिएन। नेपाल–भारत दुवै पक्षमा भदौ ३१ वा असोज १ मा भ्रमण हुने अपेक्षा गरिएको थियो।तर सो निम्तापछि दुई दिनमै भारत र चीनका विदेशमन्त्रीस्तरमा लिपुलेक नाकाबाट व्यापार सम्बन्धी सम्झौता भएपछि नेपालले असन्तुष्टि जनाउँदै कूटनीतिक पत्राचार गरेको थियो। प्रधानमन्त्री ओलीले हालै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्दा पनि सो सम्झौताबारे औपचारिकतामै प्रश्न उठाएका थिए।

यो प्रसंगसँगै भारतीय सञ्चारमाध्यम तथा विश्लेषकहरूले ओलीको आसन्न भारत भ्रमणलाई विभिन्न दृष्टिकोणबाट मूल्याङ्कन गर्न थालेका छन्। लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा जारी गर्ने निर्णय ओलीकै सरकारको पालामा भएकाले, हालैको सम्झौताले भ्रमणमा असर पार्ने हो कि भन्ने संशय थपिएको छ।काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले भने भ्रमण स्थगित भएको भन्नु उचित नहुने प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, निम्तामा मिति तोकिएको नभएकाले अन्तिम समयमा आपसी सहमतिअनुसार मात्रै प्रष्ट हुने बताइएको छ।

भारतीय पत्रिका द प्रिन्ट ले समेत यसै महिना प्रधानमन्त्री ओलीको भ्रमण नहुने सम्भावना औंल्याउँदै लिपुलेकबारे नेपालको आपत्ति भारतले संज्ञानमा लिएको उल्लेख गरेको छ। अन्य केही पत्र–पत्रिकाले पनि यस्तै शंका व्यक्त गरेका छन्।यसैबीच, चीनको तियानजिनमा आयोजित संघाई सहयोग संगठनको बैठकमा सहभागी भएका ओलीले राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत नेतासँग भेट गरेका थिए। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने औपचारिक द्विपक्षीय वार्ता नभई सामान्य जम्काभेट मात्र भएको थियो। यसलाई कतिपय विश्लेषकले नेपाल–भारत सम्बन्धमा अझै चिसोपना रहेको संकेतका रूपमा व्याख्या गरेका छन्।

यद्यपि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा ओलीसँगको भेटबारे लेख्दै दुई देशबीचको पुरानो मित्रता र सहकार्यलाई जोड दिएका थिए। भारत–नेपाल दुबै पक्षका अधिकारीहरूले भने प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको र अन्तिम मिति छिट्टै तय हुने बताएका छन्। नेपाली अधिकारीहरूले भ्रमण सेप्टेम्बरमै हुने अपेक्षा राखेका छन् भने भारतीय पक्षले संवेदनशीलता हेरिँदै अन्तिम समयमा मात्रै औपचारिक घोषणा हुने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय