काठमाडौं । भारत र चीनबीच लिपुलेक मार्ग प्रयोग गर्ने सहमति भएको समाचारप्रति विरोध जनाउँदै नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले शुक्रबार काठमाडौंस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा हस्तक्षेप हुन नदिने भन्दै नाराबाजी गरेका थिए। उनीहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रिय स्वाभिमानमा सम्झौता मान्य छैन” लगायतका नारासहित विरोध जनाए ।
अनेरास्ववियुका नेताहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको अभिन्न भूमि भएको स्मरण गराउँदै भने, “भारत र चीनबीच नेपाललाई बेपत्ता बनाएर कुनै पनि सम्झौता स्वीकार्य हुँदैन। यसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता उल्लङ्घन गर्छ।” हालै भारतीय सञ्चारमाध्यमहरूमा भारत र चीनबीच लिपुलेक मार्ग हुँदै पुनः व्यापारिक गतिविधि सुरु गर्ने विषयमा सहमति जुटेको खबर सार्वजनिक भएको थियो। नेपालले विगतमा पनि लिपुलेक मार्ग प्रयोगबारे भारत–चीनबीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै आएको छ, किनभने उक्त क्षेत्र नेपालले आफ्नो भूमि दाबी गर्दै आएको छ।



२०७७ सालमा नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो, जसपछि भारत र नेपालको सम्बन्ध केही समय तनावपूर्ण बनेको थियो। भारतीय दूतावासअगाडि प्रदर्शन हुने सूचना पाएसँगै सुरक्षाकर्मीहरू परिचालन गरी कडाई गरिएको थियो। प्रदर्शन केही समयमै नियन्त्रणमा लिइएको र कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ।



