काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ बासपानीकी एक महिलाले आफ्नो परिवारको मुख्य आम्दानीको स्रोत रहेको टेम्पो वन कार्यालयले कारबाहीको क्रममा क्षतिग्रस्त बनाएपछि घटनाले व्यापक चासो पाएको छ । घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएसँगै प्रहरी प्रशासनले समेत छानबिन प्रक्रिया अघि बढाएको छ ।

स्थानीयवासी धनादेवी धामीले आफूले जीविकोपार्जनको लागि प्रयोग गर्दै आएको पुरानो जीएसए टेम्पो वन कर्मचारीहरूले भीरबाट खसाली दिएपछि आफ्नो जिविकोपार्जनमा समस्या पर्ने बताईन । धामीले टेम्पोमा रहेका सामग्री हटाइएपछि सवारी साधनलाई सुरक्षित रूपमा सार्ने अवसर नदिई भीरबाट खसालेर क्षति पुर्याएको बताईन ।

धामीले टेम्पो आफ्नो परिवारको एकमात्र आयआर्जनको माध्यम रहेकोले त्यसमै क्षति पुगेपछि दैनिकी सञ्चालन गर्नसमेत कठिन भएको गुनासो गरेकी छन् । उनले आफुले कानुनी त्रुटि गरेको भए कानुनबमोजिम प्रक्रिया नअपनाई आफुनो जीविकोपार्जनकै साधन नष्ट गर्नु न्यायोचित नभएको भनाइ छ ।

डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत अवैध रूपमा राखिएका संरचना हटाउने क्रममा उक्त कारबाही गरिएको जनाएको छ । कार्यालयका जिम्मेवार अधिकारीहरूले सम्बन्धित पक्षलाई पटक–पटक स्थान खाली गर्न आग्रह गरिएको भएपनि अटेर भएपछि कानुन कार्यान्वयनको प्रक्रिया अघि बढाइएको दाबी गरेका छन् ।

घटनापछि स्थानीय समुदायमा राज्यका निकायको कार्यशैलीबारे बहस सुरु भएको छ । वन संरक्षण आवश्यक भएपनि कानुन कार्यान्वयन गर्दा नागरिकको सम्पत्ति र जीविकोपार्जनको अधिकारको सम्मान हुनुपर्ने आवाज उठ्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

छानबिनको क्रममा यदी कुनै कर्मचारी वा अधिकारीले कानुनी अधिकारको दुरुपयोग गरेको, लापरबाही देखाएको वा सार्वजनिक सम्पत्ति तथा नागरिकको निजी सम्पत्तिमा अनावश्यक क्षति पुर्याएको पुष्टि भए कानुनअनुसार जिम्मेवार व्यक्तिमाथि कारबाही हुनुपर्ने माग स्थानीयस्तरमा उठ्न थालेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय