काठमाडौं । गएराति परेको वर्षाका कारण पूर्वी तराई र पहाडी जिल्ला जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोसी खोलामा पानीको बहाव बढेकाले राजमार्ग सञ्चालन असम्भव भएको हो ।

प्रहरीका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा, रोसी गाउँपालिका–७ घुमाउने, रोसी गाउँपालिका–९ विरुवाडाँडा र रोसी गाउँपालिका–११ कालढुङ्गामा सडक पूर्ण रूपमा अवरुद्ध छ । अवरुद्ध सडक खोल्न सडक डिभिजन भक्तपुर र निर्माण व्यवसायीसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सर्वसाधारणलाई बीपी राजमार्ग प्रयोग गर्नुअघि सडकको अवस्था बुझ्न र सतर्क रहन प्रहरीले आग्रह गरेको छ । गत वर्षको असोज महिनामा बाढीले विपी राजमार्गअन्तर्गत भकुण्डेबेशीदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको थियो ।

यसैबीच, वर्षाका कारण रोसी खोलामा आएको बाढीले बगाउँदा राजमार्ग निर्माणमा कार्यरत रोसी गाउँपालिका–७ का कुन्साङ तामाङको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय