काठमाडौं। प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरीको धरपकडविरुद्ध वर्षाका बीच पानीमा भिज्दै पत्रकारहरूले मौन प्रदर्शन गरेका हुन्।
पत्रकार पक्राउ, सञ्चारगृहमा प्रहरीको प्रवेश तथा न्यूजरुममा सरकार र प्रहरीको हस्तक्षेप बढेको भन्दै महासङ्घले प्रदर्शन आयोजना गरेको हो। प्रदर्शनमा सहभागी पत्रकारहरूले प्रेस स्वतन्त्रता, संसदीय इजलास तथा समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।



शुक्रबार साँझ सादा पोसाकमा आएका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।
पत्रकारहरूलाई समाचार कक्षबाटै पक्राउ गरिएको घटनाको चौतर्फी आलोचना भएपछि सरकार र सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैले पत्रकार पक्राउबारे आफूहरूलाई कुनै जानकारी नभएको दाबी गर्दै छुट्टाछुट्टै वक्तव्य जारी गरेका थिए।



