काठमाडौं । लहान नगरपालिका–१ र २ मा पोखरी तथा नहरको डिलमा बस्दै आएका मुसहर समुदायको जनजीवन कष्टकर बन्दै गएको छ । सुकुम्वासी अवस्थामा रहेका उनीहरूको सुरक्षित बसोबासको व्यवस्था हुन नसक्दा वर्षायाममा थप जोखिम बढेको छ ।
लहान नगरपालिका–१ मटियर्वास्थित पोखरीको छेउमा बस्दै आएका मुसहरहरुको घर अगाडिको आँगनमा पोखरीको पानी जमेको छ । पछाडिपट्टि सडक किनारमा निर्माण गरिएको नालाको निकास नहुँदा नालाको पानीले फुसको घरको बाँसको टाटीसमेत भत्काएको छ । पोखरीको डिलमा रहेका पाँच घरपरिवार वर्षा सुरु भएसँगै जोखिममा परेका छन् ।



लहान नगरपालिका–१ र २ को सीमाना भएर बग्ने भवरा नहरको दुवै किनारमा बसोबास गर्दै आएका सयौँ सुकुम्वासी मुसहर समुदायका लागि वर्षा त्रासको समय बन्ने गरेको छ ।
सिरहा जिल्लाका १७ वटै स्थानीय तहमा रहेका मुसहर समुदाय अति विपन्न र सुकुम्वासी अवस्थामा रहेका छन् । यस समुदायका लागि सुरक्षित शौचालय, खानेपानीसहित व्यवस्थित बस्ती निर्माण आवश्यक भए पनि स्थानीय र प्रदेश सरकारले पर्याप्त ध्यान नदिएको गुनासो छ । यद्यपी उनीहरुको समस्या समाधानका लागि प्रयास भइरहेको जनप्रतिनिधिहरुले बताएका छन् ।



