काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा पर्व मनाइँदैछ ।प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो जात्रा प्रारम्भ हुन्छ । आठ दिनसम्म नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी जात्रा मनाइने गरिन्छ ।
आश्विन कृष्ण चौँथीका दिन ठड्याएको लिङ्गो भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ । इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्नुहुने छ ।



इन्द्र जात्राको दिन चन्द्रागिरि नगरपालिका वडा नम्बर १ मा रहेको दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरी मेला भर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ ।



