काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्रभित्र कुनै पनि प्रकारका विज्ञापन सामग्री राख्नुअघि अनिवार्य रूपमा नगरपालिकाबाट अनुमति लिनुपर्ने भन्दै सार्वजनिक सूचना जारी गरेको छ । नगरपालिकाले आर्थिक ऐन तथा प्रचलित कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस्तो सूचना प्रकाशित गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार व्यवसाय, संस्था वा कम्पनीहरूले प्रचार–प्रसारका उद्देश्यले निर्माण वा स्थापना गर्ने होर्डिङ बोर्ड, एलईडी बोर्ड, फ्लेक्स, नियन साइन, साइनबोर्ड, ग्लो साइन, २म्, ३म्, ब्ऋए बोर्ड, ट्राइभिजन बोर्ड लगायतका सबै प्रकारका विज्ञापन सामग्री राख्नुअघि नगरपालिकाको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको जनाएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४, बागमती प्रदेश आर्थिक ऐन, २०८३ तथा चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०८३ मा भएको कानुनी व्यवस्थाअनुसार विज्ञापन सामग्री राख्न र विज्ञापन गर्न नगरपालिकाको पूर्वस्वीकृति अनिवार्य रहेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले हालसम्म अनुमति नलिई विभिन्न स्थानमा राखिएका विज्ञापन सामग्री तथा बोर्डहरू सम्बन्धित व्यक्ति, संस्था र कम्पनीलाई ३० दिनभित्र राजस्व प्रशासन शाखामा सम्पर्क गरी आवश्यक अनुमति लिन तथा आर्थिक ऐनबमोजिम लाग्ने विज्ञापन कर र अन्य शुल्क बुझाउन आग्रह गरेको छ ।

सूचनामा तोकिएको अवधिभित्र प्रक्रिया पूरा नगरेमा अनुमति बिना राखिएका सम्पूर्ण विज्ञापन सामग्री हटाइने र प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीसमेत अघि बढाइने स्पष्ट चेतावनी दिइएको छ ।नगरपालिकाले सार्वजनिक स्थानको व्यवस्थापन, कानुनी शासनको कार्यान्वयन, राजस्व संकलनमा पारदर्शिता तथा व्यवस्थित शहरी शौन्दर्य कायम गर्ने उद्देश्यले सम्बन्धित सबै पक्षलाई कानुनी प्रक्रिया पालना गर्न अनुरोध गरेको छ ।

यसअघि OUR NEWS CREW ले नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको प्रवेश नाकामा विगमार्टको छेडछाड, चन्द्रागिरि नगरपालिकालाई खुला चुनौति ? भन्ने शीर्षकमा समाचार प्रशारण गरेपछि श्रावण १० गते आइतबार विगमार्टले विज्ञापनको बोर्ड हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय