काठमाडौं । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुंगाना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ढुंगाना आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । श्रीमान श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार यही साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको र सोमबार विद्यालय सञ्चालनका क्रममा दुवै शिक्षक सम्पर्कमा नरहेको पाइयो । उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्क हुन सकिरहेको थिएन ।

“दिनभरि सम्पर्क नभएपछि बेलुका करिब ४ः३० बजे रतन गुप्ता आफैँले मेरो वाट्सएपमा सन्देश पठाएका थिए । सन्देशमा श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले अर्को कोठामा सारेको र डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए”, प्रधानाध्यापक लुइँटेलले बताए ।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसयता उनी सम्पर्कमा रहेका छैनन् ।

प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको र सम्पर्कविहीन रहेका उनका श्रीमानको पनि खोजी भइरहेको जनाएको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय