काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा विद्युत कार्यालय धरानको गाडि अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राति करिब ११ः४० बजे सेउती पुलबाट करिब २०० मिटर अगाडि तरहरातर्फ उत्तरबाट दक्षिण जाँदै गरेको बा १ ञ १६५१ नम्बरको गाडि दुर्घटनामा परेको हो ।
दुर्घटनामा चालक जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १३ बस्ने ३३ वर्षीय बिर्खबहादुर राई र गाडीमा सवार जिल्ला सुनसरी, धरान उपमहानगरपालिका १६ बस्ने ४९ वर्षीय सुमन आचार्यको उपचारका क्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



मृतक सवारी चालक बिर्खबहादुर राई बिद्युत बितरण केन्द्र धरानको करार चालक कर्मचारी रहेको र सुमन आचार्य धरान बिद्युत बितरण केन्द्रको हेल्पर (द्धितिय तह)मा कार्यरत रहेको खुलेको छ । त्यस्तै, घाईते जिल्ला सुनसरी, धरान उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय पवन राई बिद्युत बितरण केन्द्र धरानको करारको कर्मचारी रहेको र उनको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ ।
तिब्र गतिका कारण सवारी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



