काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकलगायत देशका विभिन्न जिल्लाबाट आएका ५२ जना युवाहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध भएका छन् । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा उहाँहरूलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खादा र माला लगाएर औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नवप्रवेशी युवाहरूलाई स्वागत गर्दै देश र जनताको पक्षमा इमानदार र जिम्मेवार ढंगले काम गर्न आग्रह गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनको प्रक्रियामा युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनतासम्म पु¥याउन सक्रिय रहन आग्रह गर्नुभयो ।

दाहालले वर्तमान राजनीतिक परिस्थितिमा सचेत, ऊर्जावान र प्रतिबद्ध युवाशक्तिको आवश्यकता रहेको भन्दै सामाजिक न्याय, समावेशी विकास र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न नेकपा दृढतापूर्वक अघि बढिरहेको बताउनुभयो ।

पार्टीमा प्रवेश गर्ने युवाहरूले नेकपाको विचार, संगठनात्मक शक्ति र राजनीतिक दिशाबाट प्रभावित भएर पार्टीमा समाहित भएको बताएका छन् । उनीहरूले जनताको अधिकार, परिवर्तन र समृद्धिका मुद्दामा पार्टीसँग काँधमा काँध मिलाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा पार्टीका केन्द्रीय तथा स्थानीय तहका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पछिल्लो समय विभिन्न राजनीतिक पृष्ठभूमिबाट युवाहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दै गएको भन्दै नेताहरूले यसलाई पार्टीप्रतिको बढ्दो विश्वासको संकेतका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय