काठमाडौं । फुटबल खेलको महाकुम्भ फिफा विश्वकप २०२६ आज मध्यरातिदेखि शुरु हुँदैछ । फुटबलको इतिहासमै पहिलो पटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबलकोे पहिलो दिन दुई खेल हुँदैछन् ।



उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुनेछ । यससँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुनेछ । यस पटकको विश्वकप इतिहासमै सबैभन्दा ठूलो संस्करण हो ।
तीनवटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म चल्नेछ । कुल १०४ खेल हुनेछन् । फिफाका अनुसार प्रतियोगिताका लागि १ हजार २ सय ४८ खेलाडी छनोट भएका छन् । तीमध्ये ८ सय ९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् भने ३ सय ५७ खेलाडीले पहिले विश्वकप खेलिसकेका छन् ।
यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् । उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिनेछ । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारको प्रस्तुति रहनेछ ।
मेक्सिकोमा पहिलो उद्घाटन समारोहपछि क्यानडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुनेछ । आज राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिनेछ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहरमा खेलाइनेछ । कुल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् भने फाइनल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइनेछ ।



