काठमाण्डौ, वैशाख १ — पर्साको वीरगञ्जमा हनुमान जन्मोत्सवका अवसरमा दुई पक्षबीच भएको झडपपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार बेलुकी ७:३० बजेबाट शुक्रबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थिति नियन्त्रण बाहिर जान नदिन र शान्ति-सुरक्षाको वातावरण सुनिश्चित गर्न कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो। कर्फ्यू स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको हो।



चारकिल्ला भित्र कर्फ्यू पूर्णतः निषेध
कर्फ्यू आदेश अनुसार तोकिएको क्षेत्रभित्र कुनै प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन वा भेला गर्न पूर्ण निषेध गरिएको छ। कर्फ्यू लागू गरिएका क्षेत्र
पूर्वस् भेडियाही चौक (वीरगञ्ज महानगरपालिका–१५)
पश्चिमस् सिर्सिया पुल (वीरगञ्ज महानगरपालिका–२५)
उत्तरस् गण्डक चोक (वीरगञ्ज महानगरपालिका–१४)
दक्षिणस् शङ्कराचार्य गेट (वीरगञ्ज महानगरपालिका–१६)
झडप र प्रहरीको हस्तक्षेप
हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच विवाद उत्पन्न भई झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपका क्रममा केही प्रहरी जवान घाइते भएका छन्। प्रशासनले नागरिकलाई संयमता अपनाउन आग्रह गर्दै कर्फ्यू अवधिभर घरबाहिर ननिस्कन चेतावनी दिएको छ। परिस्थिति नियन्त्रणमा रहे पनि संवेदनशीलता कायम रहेकाले सुरक्षा निकाय उच्च सतर्क अवस्थामा छन्।



