काठमाडौं । वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२-०८३ का लागि विनियोजित बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट विनियोजन गरेको हो ।
नगर सभाको २८औं विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । जेनजी समूहले प्रदर्शनका क्रममा भवन, सवारीसाधन तोडफोड र लुटपाट भएको थियो ।
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेस गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताउनुभयो । महानगरको २७औँ नगरपरिषद्ले यसअघि आ.व. २०८२-०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ । संशोधनपश्चात् करिब ३० करोड रुपैयाँ पुनःनिर्माणका लागि विनियोजन गरेको छ ।
संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गरिने छ ।
विशेष अधिवेशनले जेनजी प्रदर्शनका क्रममा काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नं १२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय