वीरगञ्ज । हनुमान जयन्तीको शोभायात्राका क्रममा घटेको तोडफोडको घटनासँग सम्बन्धित अभियोगमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै वीरगन्जमा पुन आन्दोलन तीव्र बनेको छ। आज बिहानैदेखि शहरका विभिन्न स्थानमा प्रदर्शनकारीहरूले टायर बालेर विरोध जनाएका छन्। शनिबार भएको झडपपछि पर्सा प्रहरीले चार जनालाई मंगलबार पक्राउ गरेको थियो। प्रदर्शनकारीहरूले तीमध्ये दुई जना पूर्णतः निर्दोष रहेको दाबी गर्दै रिहाइको माग गरेका छन्। परवानीपुर, प्रतिमा चोक, घडिअर्वा चोक, नेसनल ट्रेडिङ अगाडिको क्षेत्र लगायतका स्थानमा सडक अबरुद्ध पार्दै विरोध प्रदर्शन गरिएको छ।
यसअघि मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बस्न खोज्दा प्रहरीद्वारा लाठीचार्ज गरिएको थियो। त्यसपछि आक्रोशित प्रदर्शनकारीहरू घण्टाघर र आदर्शनगर चोकतर्फ पनि उर्लिएका थिए। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले मंगलबारदेखि निषेधाज्ञा लागू गरे तापनि आन्दोलन दोस्रो दिन पनि अविच्छिन्न रूपमा जारी छ। प्रहरी प्रशासनले सुरक्षा सतर्कता कडा पार्दै संवेदनशील क्षेत्रहरूमा गस्ती बढाएको छ।



यसबीच सामाजिक सद्भावमा आँच पुग्ने खतरा देखिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र संघीय खानेपानी मन्त्री प्रदीप यादवले संयमता अपनाउन आग्रह गरेका छन्। दुबै नेताले शान्तिपूर्ण सहअस्तित्वको भावना कायम राख्न र कुनै पनि प्रकारको उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई अपिल गरेका छन्।



