काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरु आन्दोलनमा उत्रिएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले शिक्षकहरुले आफ्ना माग सम्बोधन गराउन देशैभरका सामुदायिक विद्यालय अनिश्चितकालिन बन्द गरी पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकार उल्लंघन भएको निष्कर्ष निकालेको हो । विद्यालयका शिक्षक शिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु, मानव अधिकारको मूल्य मान्यता अनुकुल नै रहेपनि आफ्नो अधिकारको प्रयोग गर्दा बालबालिकाको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरु राख्न, आफ्ना मागहरु पूरा गराउन विद्यालय बन्द बाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत रहन आयोगले आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघले उठाएका न्यायोचित मागहरुको सम्बोधन गर्न आयोगले नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।



विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकहरुको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायतका विषयमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघ आन्दोलनमा उत्रिएको हो ।



