शिक्षक सडकमा, शिक्षा मन्त्रीले राजीनामा दिइसक्नु भएको छ, अनि अब बोर्ड परीक्षा कसरी होला भन्ने ठूलो अन्योल रहँदा, राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ मै परीक्षा हुने भनेको छ । तर शिक्षकको भरमा नभई निजामती कर्मचारीलाई परीक्षा सञ्चालनको जिम्मा दिने । शिक्षक नआए के भो र, कर्मचारी खटाउँछौँ’ भन्दै बोर्डले प्रशासनलाई मैदानमा उतार्ने तयारी गरेको छ। सिडिओले जिल्लामा कर्मचारी व्यवस्थापन गर्नेछन् भने परीक्षा केन्द्रमा अब शाखा अधिकृत, नायब सुब्बा, कार्यालय सहयोगी र सुरक्षाकर्मीले खटिएर परीक्षा गराउने छन्। इतिहासमै पहिलोपटक शिक्षाको मूल आधार बनेका शिक्षक आन्दोलनमा छन् र कर्मचारीले परीक्षा गराउँदैछन्।
नेपालको शैक्षिक इतिहासमा यस्तो दिन पनि आउला भन्ने सायदै कसैले सोचेको होला—जहाँ शिक्षक आन्दोलनमा छन्, शिक्षा मन्त्रीले राजीनामा दिइसकेको अवश्था छ र परीक्षा सञ्चालन गर्ने जिम्मा निजामती कर्मचारीलाई दिनु परेको छ। हो, कुरा कक्षा १२ को बोर्ड परीक्षाको हो, जुन वैशाख ११ गतेबाट सुरु हुँदैछ। परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्योलबीच मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा जे सुकै भए पनि गराउँछौँ’ भन्दै निर्णय गर्यो। अनि भन्यो—शिक्षक आए राम्रै, नआए कर्मचारी खटाउँछौँ, परीक्षा त गराउँछौँ।



बैठकमा अधिकांश पदाधिकारीको एउटै लाइन थियो—लोकसेवाको परीक्षा कर्मचारीले गराउँछन् भने, १२ कक्षाको किन नगर्ने ? यसले त परीक्षा केन्द्रको चित्र नै फेरिने भयो। जहाँ शिक्षक हुन्थे, त्यहाँ अब सिडिओ साहेबको निर्देशनमा प्रशासनिक कर्मचारीले परीक्षा सञ्चालन गर्नेछन्।
राष्ट्रिय परीक्षा बोर्डले प्रष्ट भनिसक्यो—सबै शिक्षक आन्दोलनमा छैनन्। जहाँ शिक्षक उपलब्ध छन्, त्यहाँ उनीहरूलाई नै केन्द्राध्यक्ष वा निरीक्षक बनाउने र बाँकी ठाउँमा सिडिओलाई विकल्प खोज्न दिने।
शिक्षक आन्दोलन : सडकमा आवाज, विद्यालयमा सन्नाटा
नेपाल शिक्षक महासंघको आन्दोलनले २० दिन नाघिसक्यो। चैत २० गतेबाट सुरु भएको आन्दोलन अहिले झन् तीव्र हुँदै गएको छ। महासंघले आइतबार निजी विद्यालय पनि बन्द गर्न आह्वान गर्यो —कारण थियो, निजी विद्यालयका शिक्षकलाई परीक्षा सञ्चालनमा प्रयोग गरिन लागेको थाहा पाउनु। शिक्षकहरूले पेशागत माग र वृत्ति विकाससँग जोडिएका बुँदा अघि सारेका छन्। तिनीहरूको प्रमुख माग विद्यालय शिक्षा ऐन तुरुन्त ल्याउनुपर्ने हो, जुन हाल संसदीय प्रक्रियामा अल्झिएको छ। प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढिरहेको भने पनि, शिक्षक नेताहरू अझै सडकमा छन्। तर सरकारले शिक्षा प्रणाली संवादमार्फत होइन, दबाबमार्फत चलाउने अभ्यास गरिँदैछ।
अब परीक्षा केन्द्रमा दृश्य कस्तो होला ?
परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। १५ सय ९१ परीक्षा केन्द्र, १८सय देखि २ हजार निजामती कर्मचारी, २० हजार सुरक्षाकर्मी । सामान्यतया, परीक्षा केन्द्रमा विद्यार्थीलाई स्वागत गर्ने शिक्षक हुन्थे। अब त त्यही काम गर्न स्थानीय तहका कर्मचारी, नायब सुब्बा, शाखा अधिकृत र सिडिओका कन्ट्रोलमा हुनेछन्। परीक्षा केन्द्रमा अब पढाउने मान्छे होइन, फाइल मिलाउने मान्छे हुनेछ। यस्तो अड्कल पहिले कहिल्यै गरिएको थिएन । शिक्षक र सरकारबीचको यो रस्साकस्सीले एक पटक फेरि देखाइदियो—शिक्षा नीति अझै पनि राजनीतिक निर्णय, हठ र शक्ति प्रदर्शनको खेलमा फसेको छ। परीक्षा त हुन्छ होला, तर यसको असर कति गहिरो पर्छ भन्ने मूल्यांकन भविष्यले नै गर्नेछ। शिक्षक आन्दोलन, मन्त्रीको राजीनामा, र परीक्षा कर्मचारीले गराउने निर्णयले शिक्षा क्षेत्रलाई गम्भीर घाउ पारेको छ भन्नेमा दुईमत छैन। अब परीक्षार्थीहरूलाई चाहिएको हो—शान्ति, स्थायित्व, र उत्तरदायित्व।



