काठमाडौं – महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई सहज बनाउन मेलम्ची खानेपानी आयोजनाको पानी बागमती नदीमा छोडिएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार शिवरात्रिका लागि प्रतिसेकेन्ड एक हजार लिटर पानी बागमती नदीमा बगाइएको छ। “हामीले अरु समयमा पनि छ सय लिटर प्रतिसेकेन्ड खोलामा पानी बगाउने गरेका थियौँ। अहिले आयोजनाको क्षमता १७ करोड लिटर भनिए पनि हामीले प्रतिदिन २३ करोड लिटर पानी ल्याएका छौँ। त्यसमध्ये २० करोड उपभोक्तालाई वितरण गरेर बाँकी तीन करोड नदीमा बगाउँछौँ,” लामिछानेले जानकारी दिए। शिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउनु आवश्यक देखिएको छ। यसले धार्मिक स्नान गर्ने भक्तजनलाई सहजता प्रदान गर्नुका साथै बागमती नदीको सुन्दरता पनि बढाउने अपेक्षा गरिएको छ।

बर्षायाममा धाप ड्यामको पानी उपयोग

बर्षायाममा मनसुनजन्य विपद्बाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन केही महिना आयोजनाको आपूर्ति बन्द गर्नुपर्ने अवस्था आउँछ। त्यसबेला काठमाडौँ उपभोक्ताको आवश्यकता पूरा गर्न धाप ड्यामको पानी ल्याइनेछ। गत वर्ष छठ पर्वका बेला पनि बागमती सुधार आयोजनाले धाप ड्यामको पानी बागमतीमा बगाएको थियो। बागमती सुधार आयोजनाका उपआयोजना निर्देशक उद्धव नेपालका अनुसार शिवरात्रि, छठ लगायतका विशेष दिनहरूमा नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी सापटी लिने गरिएको छ। “यसपटक शिवरात्रिमा ड्यामको पानी परीक्षण गर्न बाँकी भएकाले आगामी वर्षामा मेलम्ची खानेपानी आयोजनालाई ड्यामको पानी दिने गरी सापटी गरेका हौँ,” उनले भने।

धाप ड्याम वर्षायाममा आकाशबाट परेको पानी जम्मा गर्ने तथा हिउँदमा बागमतीमा छोड्ने योजनाका साथ निर्माण गरिएको हो। यस योजनाअनुसार हिउँदमा प्रतिसेकेन्ड चार सय लिटर पानी बागमतीमा बगाउने लक्ष्य छ। विशेष चाडपर्वका अवसरमा बागमती नदीको बहाव बढाउने यसप्रकारको पहलले धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै पर्यावरणीय सन्तुलनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय