काठमाडौँ — उग्र प्रदर्शनमा उत्रिएका जेन–जी प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी गरेका छन्। राजधानीसहित देशका विभिन्न स्थानमा निरन्तर भइरहेको आन्दोलनले अब राज्यका प्रमुख निकायहरूलाई प्रत्यक्ष असर पारेको छ। प्रदर्शनकारीहरूले यसअघि नै सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतसहित पार्टीका शीर्ष नेताहरूको घर र कार्यालयमा समेत आगजनी गरेका थिए। राजधानीको विभिन्न क्षेत्रमा अझै पनि आगलागी र तोडफोड जारी रहेको सुरक्षास्रोतले जनाएको छ।
संसद् भवन परिसरमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ। आक्रोशित समूहले गेट नजिकै सुरक्षाकर्मीको बन्दुक खोसेर फायर गरेको घटना भएको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा गरिसकेपछि देशको राजनीतिक संकट झन् जटिल बन्दै गएको छ। प्रमुख राज्य निकायहरूमा भएको आगजनी र बढ्दो अशान्तिलाई नियन्त्रणमा लिन सुरक्षा निकाय सक्रिय भए पनि परिस्थितिमा स्थायित्व आउन सकेको छैन।






