तराई लगाएत बारामा चिसो अत्यधिक बढे पछि जनजीवन प्राभावित बन्दै गएको छ । बाराको निजगढ, जीतपुर, सिमरा, कलैया, सिमरौनगढगंज भवानीपुरका मुख्य बजार क्षेत्रमा सर्वसाधरणको चहलपहल कम भएको छ । एक साता यता यस वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको सर्वसाधरणले बताएका छन् । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । अस्पतालमा चिसोका कारण बिरामी हुनेको संख्या बढेको छ । विशेष गरी कोल्ड डायरिया, दम खोकीले सर्वसाधरणलाई सताएको चिकित्सकहरु बताउँछन् ।
शीतलहर र अत्यधिक चिसो बढेका कारण बालबालिकामा रुघाखोकी, निमोनिया, कोल्ड डायरिया, टाउको दुख्नेलगायतका समस्या देखिने गरेको छ । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, रिक्सा–ठेला चालक र दैनिक ज्यालादारीमा घर बाहिर काम गर्ने मजदुरहरू प्रभावित छन् । बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र सँगसँगै चिसो बढेकाले बाराको जनजीवन प्रभावित भएको छ । कुहिरो र शीतलहरसँगै चिसो हावा चल्ने गरेकाले हाटबजार तथा कार्यालयमा सर्वसाधारणको आवागमनमा समेत कमी भएको छ । चिसोबाट बच्न मध्य तराईमा समूहमा बसेर आगो तापेको दृश्य देखिएको छ । आ–आफ्नो घर अगाडी दाउरा, मुढा, कोइला बालेर तापेका हुन् । बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका कारण जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।



केही दिनदेखि लगातार बढिरहेको चिसोले दलित र विपन्न समुदायको जनजीवन कष्टकर बन्दै गएको छ। बिहानैदेखि चल्ने चिसो हावा, बाक्लो हुस्सु र शीतलहरले घरमा एकछाक खानसमेत धौ–धौ पर्ने यहाँका डोम, मुसहर, ढांगर, चमार, दुसाध बस्तीका बासिन्दालाई बढी प्रभाव पारेको छ। तीन दिनयता मौसममा एक्कासि परिवर्तन आएपछि दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन धान्नेहरू आगो तापेर बस्न बाध्य छन्। चिसोबाट बच्न स्थानीय प्रशासनले कुनै व्यवस्था नगरेको भन्दै उनीहरू आक्रोशित भएका छन्।
चिसो बढे पनि अहिलेसम्म जिल्ला दैवीप्रकोप उद्धार समिति बाराले राहतका लागि कुनै प्रयास गरेको छैन। अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि बाराका स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन् ।
निजगढ नगरपालिका, कलैया, जीतपुरसिमरा उपमहानगरपालिकाले जाडो बिदा दिएको छ भने अन्य पालिकाले पनि अब चाडै जाडो बिदा दिन सुरु गर्ने बुझिएको छ । चुन्बावक बेला जनतालाई बिभिन्न प्रलोभन देखाएर अमुल्य मत लिएर विजय भएका जनप्रतिनिधिले अहिले जनता कुन अवस्थामा छ भनेर हेर्न समेत आउने गरेको छैन जसले जनता माथि झन् पिडा थपिदै गएको छ ।



