काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ । राष्ट्रपति भवन शीतल निवासमा केही बेरअघि बैठक शुरू भएको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद् विघटन हुनुअघिको संसदमा प्रतनिधित्व गर्ने राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।
बैठकमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन उपस्थित छन् ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।
अन्तरिम सरकारले फागुन २१ गते चुनावको मिति तोकेको छ । तर, एमालेले संसद पुनस्र्थापना गर्नुपर्ने माग राखेको छ भने कांग्रेस पनि सोही मागमा सहमत छ ।






