काठमाडौं, १२ असोज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले स्थानीय प्रहरीको सहयोगमा शनिबार बिहानैदेखि घरलाई घेराबन्दी गर्दै खानतलासी थालेको पारिवारिक स्रोतले जनाएको छ। खानतलासीको क्रममा घरभित्र रहेका कागजात तथा इलेक्ट्रोनिक सामग्री जफत गरिएको बताइएको छ।
भूषण राणा, निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका सिधा भाइ हुन्। उनी आरजु राणा र शेरबहादुर देउवासँग सम्बन्धित कतिपय व्यवसायिक तथा कूटनीतिक डिलमा प्रतिनिधिको रुपमा सक्रिय रहेको भन्ने आरोप लाग्दै आएको छ। प्रहरी स्रोतका अनुसार गोप्य सूचना प्राप्त भएपछि अनुसन्धानका लागि छापा मारिएको हो। तर छापा मारिएको कारणबारे विस्तृत विवरण हालसम्म सार्वजनिक गरिएको छैन।



यस घटनाले तत्कालीन मन्त्री परिवार र नजिकका व्यक्तिहरूको संलग्नताबारे फेरि चर्चा सुरु गरेको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानको निष्कर्ष सार्वजनिक नगरेसम्म थप जानकारी खुल्ने सम्भावना कम रहेको देखिन्छ।



