काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १४ मा रहेको ब्राइट फ्युचर माध्यामिक विद्यालयले आफ्नो ३९ औँ स्थापना दिवस सम्पन्न गरेको छ । २०४४ साल मंसिर १२ गते स्थापित विद्यालयले आज आध्यात्मिक व्यक्तित्व डा. चिन्तामणिनाथ योगीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि योगीले ब्राइट फ्युचर विद्यालयले नैतिक मूल्य र मान्यताको उदाहरण प्रस्तुत गरेको बताउनुभयो । उहाँले विद्यालयको निरन्तर प्रयास र कुशल शिक्षणले विद्यालयले आज ३९औं स्थापना दिवस मनाउन सफल भएको बताउनु भयो ।

कार्यक्रममका अध्यक्ष एवम् ब्राइट फ्युचर मा.वि.का अध्यक्ष मोहनकुमार कार्कीले विद्यालय स्थापनाकालबारे स्मरण गराउनु भएको थियो । उहाँले अभिभावक, शुभचिन्तक, विद्यार्थी, शिक्षकहरुको अथक मेहनत र परिश्रमले विद्यालय आज नेपालकै प्रतिष्ठित विद्यालय बन्न सफल भएको बताउनु भयो । उहाँले विद्यालयलाई प्रतिष्ठित बनाउन प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै, विद्यालयका प्रिन्सिपल दयाराम थापाले आगामी दिनमा विद्यालयमा अझ सशक्त भूमिका निर्वाह गर्न शिक्षक, विद्यार्थी, कर्मचारीहरुमा आग्रह गर्नुभयो । प्रिन्सिपल थापाले सबैको साथ पाए विद्यालयले शिक्षण क्षेत्रमा अझै अब्बल बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।

स्थापना दिवसमा विद्यालयलाई स्थापित गराउन सहयोग गर्ने विभिन्न व्यक्तिहरुमध्ये चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ का कपिलमान श्रेष्ठ र यमबहादुर हमाल त्यसैगरी वडा नम्बर १५ बाट शम्भुराज थापा र विष्णु भगत कार्कीलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयको खेल सप्ताहमा विभिन्न खेलका विजेता विद्यार्थीहरूलाई सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।


कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष घनश्याम लुइटेल, अभिभावक, विद्यार्थीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय