भोजपुरमा निर्माण भईरहेको षडानन्द १२–तुर्के पुल– साम्पाङ– फाली दोवाटो २० किलोमिटर सडक निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । नियमित अनुगमन गरि सडक निर्माणमा गुणस्तरीयतामा ध्यान दिइएको छ ।
पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत निर्माण भइरहेको षडानन्द १२–तुर्के पुल– झ्याउ पोखरी–साम्पाङ– फाली दोवाटो २० किलोमिटर सडक निर्माणले तिव्रता पाएको छ । निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ । सडकलाई गुणस्तरिय तवरबाट समयमा सम्पन्न गराउन पहल गरिरहेको कार्यालयको भनाइ छ ।



यो सडकको स्टकचर निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । सव बेस र बेस लगायतको काम पनि भईरहेको छ । हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भईरहेको निर्माण कम्पनी लामा, बानियाँ जेभीले जनाएको छ । सामान ढुवानीको लागि अरुण नदीमा पुल नहुँदा पनि समस्या रहेको कम्पनीले जनाएको छ ।
आस्फाल्ड प्रविधिमा कालेपत्रे हुने सडकको गुणस्तरमा विषेश ध्यान दिएको कार्यालयले जनाएको छ । कम्पनीले इन्जिनियरको प्रत्यक्ष निगरानीमा निर्माणको काम गरिएको छ । निर्माण सामग्रीको ल्याब परिक्षणपछि मात्र प्रयोगको लागि अनुमति दिने गरेको कार्यालयले जनाएको छ । २०७७ असोजबाट निर्माण थालिएको सडक २०८१ वैसाख भित्र सम्पन्न हुने कार्यालयले जनाएको छ । तोकिएको अवधिमा निर्माण सम्पन्न नभएपछि एक वर्ष म्याद थप भएको कार्यालयको भनाइ छ ।



