संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। केही दिनअघि सार्वजनिक भएको एउटा अडियो क्लिपमा उनको नाम जोडिएपछि व्यापक विवाद उत्पन्न भएको थियो। गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा आफूमाथि लागेको आरोपको निष्पक्ष अनुसन्धानका लागि राजीनामा दिएको उल्लेख गरेका छन्। “कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ,” उनले स्टाटसमा लेख्दै आफू अहिले त्यसैको शिकार भएको बताएका छन्।



विवादास्पद अडियो क्लिपमा कास्की जिल्लाको मालपोत कार्यालय प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख रुपैयाँ घुसको माग गरिएको संवाद सार्वजनिक भएको थियो। अडियोमा मन्त्री गुप्ताको नाम जोडिएपछि यस विषयमा आलोचना चुलिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बालुवाटार बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको स्रोतले जनाएको छ। त्यसको भोलिपल्टै गुप्ताले फेसबुकमार्फत राजीनामा घोषणा गरेका हुन्। राजकुमार गुप्ता नेकपा एमाले का नेता हुन्। उनी पर्सा–३ निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। गुप्ता २०८१ साल असार ३१ गते संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा नियुक्त भएका थिए।
विपक्षी दलहरूले अडियो प्रकरण सार्वजनिक भएदेखि नै गुप्ताको राजीनामा र कानुनी कारबाहीको माग गर्दै आएका थिए। मन्त्रीको राजीनामासँगै अब उक्त प्रकरणको निष्पक्ष छानबिन हुने अपेक्षा गरिएको छ।



