ललितपुर — देशभर भइरहेको जेन–जी आन्दोलनको क्रममा मंगलबार बिहान ललितपुरमा दुई फरक घटनाहरू भएका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा युवाहरूले ढुंगामुढा गरेका छन् भने हात्तीवनस्थित प्रहरी चौकीमा प्रदर्शनकारीले तोडफोड गरेका छन्। ललितपुरको सुनाकोठीस्थित मन्त्री गुरुङको घरमा बिहानै केही युवाले अचानक ढुंगा प्रहार गरेका थिए। घटनापछि स्थानीयवासीमा त्रास फैलिएको थियो। सुरक्षाकर्मी परिचालन भएपछि अवस्था नियन्त्रणमा आएको ललितपुर प्रहरीका एसपी चक्रराज जोशीले जानकारी दिएका छन्। उनको भनाइअनुसार हाल स्थिति सामान्य छ र थप घटना रोक्नका लागि प्रहरी गस्ती बढाइएको छ।

त्यसैगरी मंगलबारै दिउँसो प्रदर्शनकारी समूहले हात्तीवनस्थित प्रहरी चौकीमा तोडफोड गरेका छन्। आन्दोलनकारीले कार्यालयका झ्याल, ढोका र कागजातहरू नष्ट गरेको बताइएको छ। प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन आँसु ग्यास प्रहार गरेको भए पनि भीड केही समय नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन्। अहिलेसम्मको विवरणअनुसार, यी घटनाहरू सोमबारदेखि सुरु भएको जेन–जी आन्दोलनसँग जोडिएका छन्। उक्त आन्दोलन सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारी निर्णय, बढ्दो भ्रष्टाचार, राजनीतिक अस्थिरता र विद्यार्थीमाथिको हिंसात्मक दमनको विरोधस्वरूप देशभर फैलिएको छ। सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु र करिब ४०० जना घाइते भएका थिए। त्यसको प्रतिक्रियास्वरूप मंगलबार विभिन्न ठाउँमा झन् आक्रोशित प्रदर्शनहरू देखिएका छन्।

प्रहरीले राजधानी उपत्यकाका संवेदनशील क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ। मन्त्रीहरूका आवास, पार्टी कार्यालय, प्रहरी चौकी र सरकारी संरचनामा कडा निगरानी राखिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय