काठमाडौं । संजीवनी महिला कृषि सहकारी संस्थाले आफ्नो दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।




चन्द्रागिरि नरपालिका वडा–८ का वडा अध्यक्ष तथा नगरको आर्थिक विकास समितिका संयोजक प्रल्हाद रिजालको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । अध्यक्ष रिजालले ‘संजीवनी महिला कृषि सहकारीको अभियान, स्वाधिन अर्थतन्त्र र उज्ज्वल भविष्यको पहिचान’ भन्ने मूल नारालाई सहकारीले सार्थक बनाउन निरन्तर कृयाशील रहेको बताउनु भयो । उहाँले २०७० साल देखि विधिवत रुपमा संचालनमा आएको यो संस्था आगामी दिनमा पनि समाजको ऐना बन्न सफल रहोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।

संजीवनी महिला कृषि सहकारी संस्थाका अध्यक्ष सुनमाया श्रेष्ठले स्थापना काल देखि नै विभिन्न कृषि सम्बन्धी विचार, गोष्ठी तथा तालिम संचालन गर्दैआएको र अब महिलाहरुको दिगो आर्यआर्जनका लागि संस्थाले लेखा तालिम चलाउने जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले महिलाहरुद्वारा मात्र संचालिन चन्द्रागिरि नगरपालिका भित्रको एक मात्र सहकारी संजीवनी महिला कृषि सहकारी भएको दाबी समेत गर्नुभयो ।

साथै संस्थाको भावी कार्ययोजना र प्रगति प्रतिवेदन सचिव पम्फा श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्योति पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, नगरको आर्थिक तथा सहकारी शाखाका प्रतिनिधि, कृषि अभियन्ता, संस्थाका सल्लाहकार, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष, इतिहास अनुसन्धान अध्ययन समाजका अध्यक्षलगायतको उपस्थ्तिि रहेको थियो ।





