संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपाल आइपुगेका छन् । नेपालको चार दिने भ्रमणका लागि उनी शनिबार राती (आइतबार)बिहान १ बजे नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आइपुगेका उनलाई विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए ।प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७८औँ साधारणसभा र इटालीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।



प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसङ्घीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेको भए पनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भएको थियो । त्यसपछि उनी आज आएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने उनले बताए । यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ ।
यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन् । सन १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेस नेपाल आएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् । यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उनले भेटघाट गर्ने कार्यक्रम छ ।
महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई मङ्गलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । गुटेरसको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ ।नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ ।



