काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटकपटक गरेकोे क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो ।
संविधान दिवसको अवसरमा जारी गर्नुभएको सन्देशमा उहाँले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्नुभएको हो । यस अवसरमा सभापति देउवाले आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात वीर सहीदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।



सन्देशमा सभापति देउवाले कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई संविधान घोषणा भएको बताउनु भयो ।
उहाँले न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति, संघर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान् सपुतहरूप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको शुभकामना व्यक्त गर्नुभएको सन्देशमा उल्लेख छ ।



