सडक अवरुद्ध हुँदा उत्तरी नाका तातोपानी हुँदै नेपाल आउन लागेका दर्जनौं मालबाहक कन्टेनर चीनतर्फको न्यालम क्षेत्रमा अलपत्र परेका भोटेकोशी चेम्बर अफ कर्मसका अध्यक्ष फुनु शेर्पाले बताए । चीनको सिगात्से–न्यालम–खासा सडकखण्डको विभिन्न स्थानमा ४० देखि ५० मिटर सडकखण्ड बाढीले बगाएपछि यातायात ठप्प भएको छ उनले भने । वर्षा सामान्य रहे पनि बाढी र पहिरोले सडक क्षतविक्षत बनाएको उनले बताए ।



हाल न्यालम काउन्टी सरकारले आपतकालीन पूर्वाधार निर्माण गरेर दुई दिनभित्र सडक सञ्चालन गर्ने तयारी थालेर काम अघि बढाएको छ । भोटेकोशी बाढीले रसुवागढी नाकामा क्षति पुर्याएपछि रसुवाको टिमुरे भन्सारतर्फ जान लागेका ५० भन्दा बढी कन्टेनर अब खासा हुँदै तातोपानीतर्फ डाइभर्ट गरिएको छ । अहिले चीनका सेना र सुरक्षाकर्मीहरू सडक मर्मतमा खटिएका छन् ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुँडालले चीनको न्यालम क्षेत्रको विपद् अवस्थाबारे यथार्थ विवरण लिइरहेको जानकारी दिएका छन् ।



