सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसीब्यारेजमा सञ्चालनमा रहेको एक होटेलको आडमा गाँजा तस्करी भइरहेको पुष्टि भएको छ। यस प्रकरणमा स्थानीय बुधन मण्डललाई तत्कालीन एसपी ढकेन्द्र खतिवडाको निर्देशनमा गत असार १ गते पक्राउ गरिएको थियो। बुधनमाथि लागूऔषध कारोबार, कर्तव्य ज्यानसम्बन्धी लगायत सातवटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता छन्।



अद्भुत कुरा के छ भने, तत्कालीन एसपी खतिवडालाई घुस दिएको दावी गर्ने यही मण्डल परिवारका सदस्यहरू नै गाँजा तस्करीमा संलग्न रहेको पाइएको छ। बुधन मण्डलका भाई २४ वर्षीय अखिलेश मण्डल हाल भारतको बिहारबाट १८० केजी गाँजासहित पक्राउ परेका छन्। अखिलेशसहित तीन जनालाई भारतीय प्रहरीले हिरासतमा राखेको छ।
घटना सुरुआती रूपमा बुधन मण्डल निर्दोष रहेको र प्रहरीले होटेलबाट अनावश्यक रकम उठाउने गरेको आरोप युट्युबरमार्फत अखिलेशले प्रचार गरेका थिए। तर अहिले उनको गिरफ्तारीले परिवारको आपराधिक सञ्जाल उजागर गरेको छ। यस प्रकरणमा सप्तरी प्रहरीले दाजुभाइको लागुऔषध तस्करी नेटवर्कको विषयमा थप अनुसन्धान अघि बढाएको छ। यसबीच बुधन मण्डल पक्राउ परेपछि सार्वजनिक भएको एसपी खतिवडालाई घुस दिइएको भन्ने विषयमा आन्तरिक छानबिनको लागि उनलाई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा तानिएको थियो।



