काठमाडौं, १४ असोज — गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि लामो समय सार्वजनिक रूपमा देखिएका थिएनन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। आज उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी भएर पहिलोपटक सार्वजनिक उपस्थिती जनाए।
बुढानीलकण्ठस्थित आन्दोलनको क्रममा भएको झडपमा देउवा घाइते भएका थिए। आन्दोलनकारीको आक्रमणमा परेका देउवालाई नेपाली सेनाले उद्धार गरेर अस्पताल पुर्याएको थियो। घटनापछि उनको स्वास्थ्य अवस्थाबारे व्यापक विवरण सार्वजनिक गरिएको थिएन।



नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरे पनि सम्भव नभएपछि स्थलमार्ग प्रयोग गरिएको थियो। सुरक्षाको कारण देउवाको उपचार कहाँ गरिएको हो भन्ने खुलाइएको थिएन। टाउकोमा गम्भीर चोट लागेका देउवालाई १२ वटा टाँका लगाइएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी गराएका थिए।
आजको बैठकमा देउवाको उपस्थितीले पार्टीभित्र आश्वस्ति र राजनीतिक सन्देश दिएको नेताहरूले बताएका छन्।



