नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्नु अहिलेको प्रमुख राष्ट्रिय दायित्व भएको बताएका छन्। उनले लोकतन्त्र र संविधानलाई मजबुत बनाउन निर्वाचनलाई तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन्। थापाले सोमबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको सन्देशमा भनेका छन्, “भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आजको मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ, यो कुरा नविर्सौं।”
उनको भनाइ अनुसार, देशलाई स्थायित्व दिन र जनतामा लोकतन्त्रप्रतिको विश्वास बढाउन निर्वाचन नै एक मात्र वैधानिक बाटो हो। त्यसैले निर्वाचन ढिलो गर्न वा कुनै बहानामा टार्न खोज्नु संविधानको मर्मविपरीत हुने उनको चेतावनी छ। थापाले निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन सरकारले आवश्यक कानुनी, सुरक्षात्मक र राजनीतिक पहल तत्कालै गर्नुपर्नेमा जोड दिएका छन्। साथै उनले राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण जनतालाई पनि लोकतान्त्रिक प्रक्रियामा दृढ रहन अपिल गरेका छन्। राजनीतिक अनिश्चितता बढिरहेको र अन्तरिम व्यवस्थाबारे बहस भइरहेका बेला आएको उनको भनाइले आगामी निर्वाचनप्रति जोडिएको चिन्ता र अपेक्षा झल्काएको देखिन्छ।






