काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जनधनको क्षतिका कारण सृजित भय र अशान्तको अवस्थालाई छोटो समयमै सरकारले सामान्यीकरण गर्न सफल भएको उल्लेख गर्नुभयो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले जेनजी आन्दोलनमा ७६ जनाको निधन र प्रारिम्भक अनुमानअनुसार ८४ अर्बभन्दा बढीको भौतिक क्षति भएको अवस्थाबाट यहाँसम्म ल्याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले आमजनमानसमा पनि डर र त्रास कम हुँदै गएको र समाज सकारात्मक दिशातर्फ उन्मुख भइरहेको स्पष्ट पार्नुभयो ।

आगामी फागुन २१ गते निर्वाचन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणलगायत कार्यदेशसहित जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको पृष्ठभूमि उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको सुनश्चितता भइसकेकाले अब शंका नगर्न आग्रह गर्नुभयो ।

सरकार निर्वाचनका लागि प्रतिबद्ध रही निर्वाचन आयोग, सुरक्षा निकायका लागि आवश्यक बजेटको व्यवस्था गरिसकेको उहाँको भनाइ थियो । मन्त्री खरेलले निर्धारित समयमै निर्वाचन गराउन राजनीतिक दल, सरोकारवाला संस्थालगायतसँग वार्ता भइरहेको पनि उल्लेख गर्नुभयो ।

मन्त्री खरेलले सरकारले पाएको अर्को कार्यदेशअनुसार सुशासन कायम गर्ने सिलसिलामा खर्चमा मितव्ययी हुने र आवश्यकता बाहिरका आयोजनाको बजेट कटौती गरिरहेको बताउनुभयो । साथै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन पनि सरकारले ध्यान दिएको उहाँको भनाइ छ ।

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएको मुद्दा सम्बोधन गर्ने क्रममा जेनजी पुस्तासँग महत्त्वपूर्ण समझदारी भएको बताउनुभयो । जेनजी विद्रोह हो की आन्दोलन भन्ने अन्योलतालाई चिर्दै सरकारले जनआन्दोलनको मान्यता दिएको उहाँको भनाइ थियो । त्यो विषय राजपत्रमा प्रकाशित भइसकेको उहाँले उल्लेख गर्नुभयो ।

आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिन गर्न आयोग गठन भई विधिप्रक्रिया र कानुनसम्मत ढङ्गले काम भइरहेको जनाउँदै उहाँले आयोगको कार्यक्षेत्र सरकारले मिच्न नपाउने र आयोगले स्वतन्त्र रूपले काम गर्ने बताउनुभयो । आयोगको काममा सरकारले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गर्नुभयो ।

केही दलले चुनाव अगावै महाविधशेन सम्पन्न गरेर नेतृत्व चयन गरिसकेका बताउँदै उहाँले केही राजनीतिक दलले भने सुरक्षा चासो देखाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय