काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि वडा नं ५ किसिपिडीमा भइरहेको निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन् ।



नगरप्रमुख गिरीले वडा नम्बर ५ स्थित ऐतिहासिक एवं पुरातात्विक बस्ती किसिपिडीमा सञ्चालित विभिन्न पूर्वाधार विकास तथा निर्माण कार्यहरूको स्थलगत अनुगमन र निरीक्षण गरेका हुन् । सम्पदा क्षेत्रको मौलिकता संरक्षण गर्दै विकास योजनाहरूलाई समयमै, पारदर्शी र गुणस्तरीय रूपमा सम्पन्न गराउने उद्देश्यका साथ नगरप्रमुख गिरीसहितको टोलीले उक्त क्षेत्रको भ्रमण गरेको हो ।
निरीक्षणका क्रममा नगरप्रमुख गिरीले निर्माण कार्यमा प्रयोग भइरहेका सामग्रीको गुणस्तर र प्राविधिक पक्षबारे जानकारी लिएका थिए । उपभोक्ता समिति तथा निर्माण पक्षलाई निर्देशित गर्दै उनले स्थानीय जनताको भावना अनुरूप तोकिएको समयभित्रै सम्झौता अनुसार काम सम्पन्न गर्न निर्देशन पनि दिएका छन् ।
चन्द्रागिरि–५ किसिपिडीमा परम्परागत लाछी, पाटीपौवाको जीर्णोद्धार तथा बस्तीभित्र परम्परागत ढुङ्गा छाप्ने र ढल व्यवस्थापनका कार्यहरू भइरहेका छन् । अनुगमनका क्रममा स्थानीय बासिन्दाहरूले योजनाको प्रभावकारिता र बस्तीको मौलिकता जोगाउन चालिएका कदमबारे नगर प्रमुखलाई सुझाव दिएका थिए । नगरप्रमुख गिरीले स्थानीय समुदायको सक्रिय निगरानी र सहभागिताले मात्र विकास दिगो हुने विश्वास व्यक्त गरे ।
निरीक्षणका क्रममा वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र महर्जन, वडा सदस्य महेन्द्र महर्जनलगायतको सहभागिता रहेको थियो ।



