स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सामाजिक सुरक्षाका रूपमा आर्थिक वर्ष २०७२-०७३ मा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरू गर्यो । यो कार्यक्रममा बीमितहरूले तोकिएका स्वास्थ्य संस्थाबाट बीमा सुविधा अनुसारका तोकिएको औषधोपचार निःशुल्क पाउने ब्यबस्था छ । स्वास्थ्य बीमा अन्तर्गत ३५ सय रुपैंयाँ तिरेपछि पाँच जनासम्मको परिवारले एक वर्षका लागि १ लाख बराबरको उपचार पाउँछन् । परिवारमा पाँच जनाभन्दा बढी भएमा एक जनाको सातसयको दरले रकम थपेर बीमा गर्नुपर्ने हुन्छ । स्वास्थ्य बीमाले स्वास्थ्य सेवामा सबैको पहुँचको ढोका खोलेपनि कार्यान्वयन पाटो भने एकदमै फितलो छ ।
स्वास्थ्य बीमाको कार्यक्रम इलाममा प्रभावकारी नभएको पाइएको हो । नागरिकलाई स्वास्थ्योपचारमा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले चलाइएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुँदा यसबाट धेरैले लाभ लिन सकेका छैनन् । एकातिर, यसको फाइदा र महत्वबारे अझै धेरैलाई थाहा छैन भने अर्कातिर बीमा अन्तर्गतको सेवा लिन जाँदा प्रक्रियागत झन्झट, समयमा उपचार नहुने र अस्पतालमा धेरैजसो बीमाको औषधि नपाइँदा निजी फार्मेसीबाट किन्नुपर्ने बाध्यता सेवाग्राहीको छ ।



बिभिन्न समस्याका कारण स्वास्थ्य बीमाप्रति नागरिकको रुचि घट्दो छ । स्वास्थ्य उपचारमा सहज पहुँचका लागि सञ्चालित कार्यक्रममै असुविधा र असहजता भएपछि बीमितहरूले बीमा नवीकरण नगराउने प्रवृत्ति देखिएको छ । सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगरेपछि अस्पताललाई समेत कठिन भइरहेको छ । ६ महिनादेखि सरकारी अस्पताललाई सरकारले स्वास्थ्य बीमा बापतको पैसा नदिएको तर बीमा लागू गरेको निजी अस्पताललाई सरकारले महिनैपिच्छे भुक्तानी गर्दा सेवा दिन समस्या भइरहेको स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीकै दुखेसो छ ।
यस्तै स्वास्थ्य बीमा बोर्डले बीमाको कार्डमा फोटो भएका बीमितलाई मात्र बीमाको सुबिधा दिइरहेको छ । तर दर्ता सहयोगीले बीमितको फोटो सफ्टवेटरमा अपलोड नगर्दा स्वास्थ्य संस्थाले आवश्यक स्वास्थ्य सेवा दिन सकिरहेको छैन । स्वास्थ्य बीमा बोर्डले एकातिर अस्पतालमा बीमा बापत भएको खर्चको भुक्तानी गरेको छैन, अर्कातर्फ दर्ता सहयोगीले कार्डमा बिमीतहरुको फोटो समेत अपलोड नगरिदिँदा सेवाग्राहीले दुःख माथि दुःख पाइरहेका छन् । स्वास्थ्य बिमा बोर्ड इलामले बीमा बापतको रकमको भुक्तानी नहुँदा स्वास्थ्य संस्थामा बीमा बापत दिइने औषधिहरु पुर्याउन नसकिरहेको तथा भौगोलिक बिकटता र नेटवर्कको समस्याले बिमीतको फोटो चाँडो अपलोड गर्न नसकेको भन्दै गैर जिम्मेवार अभिब्यक्ति दिँदै आएको छ ।
सरकारी अस्पतालमा बीमाले निर्धारण गरेका सेवाहरू उपलब्ध हुँदैनन् । ग्रामीण भेगका स्वास्थ्य संस्थाको अवस्था पनि त्यस्तै दयनीय छ । स्वास्थ्य बीमा बोर्ड इलामको तथ्याङ्क अनुसार जिल्लामा स्वास्थ्य बीमा गर्ने बिमीतको संख्या १ लाख ६४ हजार ५ सय ७५ जना रहेका छन् । तर अझैपनि जिल्लाका झण्डै आधा नागरिक स्वास्थ्य बीमाको पहुँचबाट टाढा छन् ।



