सरकारविरुद्ध प्रतिपक्षी दलहरु आन्दोलनमा उत्रिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन रोक्ने जुक्ति खोज्न थाल्नुभएको छ । शनिबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले काठमाडौंमा विरोधसभा गर्नुअघि नै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरुको बैकठ बोलाएर सडक प्रदर्शनहरुको औचित्य नै नभएको निर्णय गराउनुभयो । माओवादी प्रदर्शनको पूर्वसन्धामा बसेको सत्तारुढ दलको बैठकले सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य हुने निर्णय नै गर्यो । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार सिंहदरबारमा बोलाएको सत्ता साझेदार दलहरुको निश्कर्ष छ, ‘सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीकी सह(अध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी भएको बैठकले सरकारविरुद्ध हुने प्रदर्शनलाई अराजकताको संज्ञा दियो । साथै यस्ता आन्दोलनले राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने भनिदियो । अर्थात् सरकारले कुनै पनि दल आफ्ना कुनै पनि माग लिएर सडकमा नउत्रियोस्, सरकारविरुद्ध प्रदर्शन वा प्रश्न केही पनि नगरोस् भन्ने चाहना देखायो ।
सरकारले चाहना मात्र होइन, सडक आन्दोलनलाई लोकतन्त्रको मूल्य र मान्यताविपरीतको कार्य नै भनिदिएको छ भने यस्तो नगर्न ध्यानाकर्षण गराएको छ । आफ्नो प्रशंसा गराउन र विपक्षीहरुको आन्दोलनको औचित्य छैन भन्ने देखाउन प्रधानमन्त्री ओलीलाई निकै हतारो देखिएको छ । केही समययता आफ्नो सरकारको लामो आयु सुनाइरहनु भएका प्रधानमन्त्री ओलीको यो कदम सरकारविरुद्ध कुनै पनि आन्दोलन नहोउन् भन्नेमा केन्द्रित देखिएको छ ।तर अर्कोतर्फ आन्दोलनको मनस्थिति बनाइसकेका दलहरु भने ओलीको यस्तो औजारले रोकिने देखिँदैनन् । शनिबार नै माओवादीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । रवि लामिछानेकै पक्राउकै केशमा किन नहोस् रास्वपाले पनि विरोध जारी राखेको छ भने राप्रपा, जनमत लगायतका अरु विपक्षीहरु प्रदर्शनको पालो पर्खेर बसेका छन् ।



किन आन्दोलित हुन खोजी रहेका छन् विपक्षी ?
विपक्षी दलहरु आन्दोलनमा होमिनुमा सबैका बेग्लाबेग्लै स्वार्थ देखिन्छन् । किनकी वर्तमान गठबन्धन भत्काएर तत्काल सरकार परिवर्तन नहुने अवस्थामा पनि मुख्यरुपमा आफ्नो अस्तित्व जोगाइरहन दलहरु आन्दोलनको सहारा लिन खोज्दैछन् ।
माओवादी किन गर्दैछ आन्दोलन ?
तीन महिनाअघिसम्म सरकारमा रहेको माओवादी फेरि पनि वर्तमान गठबन्धन भत्काउन चाहन्छ । सडकमा विभिन्न मुद्दा लिएर जाने र यसको दबाबले सत्तारुढ गठबन्धनभित्र दरार ल्याउने अनि नयाँ गठबन्धन बनाउने दाउ माओवादीको छ ।
रास्वपा किन आन्दोलन गर्दैछ ?
सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनमा उत्रिएको रास्वपा सडक दबाबबाट लामिछानेलाई जेलमुक्त गराउन चाहन्छ । अहिले सडकमा उत्रिएपछि सहकारी पीडितलाई न्याय दे भन्ने नारा उसले बोकेको छ तर उसको तयारी र वास्तविकता लामिछानेमाथिको छानबिन प्रभावित तुल्याउनेमा केन्द्रित छ ।
राप्रपा किन आन्दोलनमा ?
विपक्षी दलहरु सबै आन्दोलनमा जाँदा राप्रपाले पनि आन्दोलनमा योजना बुनिरहेको छ । उसको विगतदेखिकै मुद्दा राजतन्त्र र हिन्दु राष्ट्रको हो । तर वर्तमान सरकारप्रति आलोचना बढिरहेको समयमा समग्रमा यो व्यवस्थामाथि नै वितृष्णा पैदा गराउन र आफ्ना मागहरु बलिया बनाउन उचित अवसर हुने देखेपछि राप्रपा आन्दोलनमा उत्रिन खोज्दैछ ।
जनमत पार्टी पनि आन्दोलनको तयारीमा, किन ?
हाल सत्ता गठबन्धनमै रहेको जनमत पार्टी पनि आन्दोलनको तयारीमा छ । उसको आन्दोलन सरकारविरोधी नै हो । किनकी सरकारविरोधी आन्दोलनबाट मात्रै दलले पहिचान स्थापित गर्न सक्छन् भन्ने कुरा यो पार्टीका अध्यक्ष सिके राउतलाई राम्रोसँग थाहा छ । आफ्नो उपस्थिति बलियो देखाउन सिके राउत आन्दोलनको तयारीमा जुटिसक्नु भएको छ । एकातिर प्रतिपक्षी दलहरु आन्दोलनको दाउमा छन् भने अर्कोतिर प्रधानमन्त्री ओली आन्दोलन हुनै नदिने वातावरण बनाउने प्रयासमा हुनुहुन्छ । यही प्रयासको पहिलो श्रृंखलाअन्तर्गत उहाँले सत्ता साझेदार दल बोलाएर सरकारको कामको प्रशंसा गराउनु भएको छ भने सडक आन्दोलनको औचित्य नरहेको ठोकुवा गराउनु भएको छ । तर ओलीको आइडियाले विपक्षी दलहरु रोकिने सम्भावना भने कम देखिन्छ ।



