काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र ओमकारेश्वर मन्दिरको स्तरोन्नति (जीर्णोद्धार) कार्य सम्पन्न गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। बागमती प्रदेश सरकार र स्थानीय उपभोक्ताको संयुक्त लगानीमा मन्दिरको स्वरूपलाई कलात्मक रूपमा थप व्यवस्थित बनाइएको हो ।

बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा एक विशेष धार्मिक अनुष्ठानका बीच मन्दिरको उद्घाटन गरिएको हो । सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले सनातन धर्म–संस्कृतिको संरक्षण र संवद्र्धनले नै समाजलाई मर्यादित र अनुशासित बनाउने बताउनुभयो । उहाँले धर्म र संस्कृति समाजको मेरुदण्ड भएको उल्लेख गर्दै मन्दिरको स्तरोन्नतिले स्थानीय क्षेत्रको धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासलाई प्राथमिकतामा राख्दै विभिन्न योजनामा लगानी गर्दै आएको पनि श्रेष्ठले बताउनुभयो ।

मन्दिर निर्माणका लागि कुल २५ लाख रुपैयाँ खर्च भएको छ । जसमध्ये बागमती प्रदेश सरकारबाट २२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको थियो भने स्थानीय उपभोक्ता तथा श्रद्धालु भक्तजनहरूबाट २ लाख ५० हजार रुपैयाँ संकलन गरिएको मन्दिर निर्माण उपभोक्ता समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ७ का कार्यवाहक वडा अध्यक्ष रामशरण महत, वडा सदस्य एवं नगर कार्यपालिका सदस्य उमा कुमारी थापा, वडा सदस्यहरू भुवन कुमार केसी र पूर्णकुमारी बयलकोटी लगायत स्थानीय धार्मिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । मन्दिरको स्तरोन्नतिसँगै स्थानीय क्षेत्रमा धार्मिक पर्यटनको विकास हुने विश्वास लिइएको छ । सरकारी बजेट र स्थानीयको जनश्रमदान एवं आर्थिक सहभागिताको यो कार्यलाई एउटा उदाहरणीय प्रयासको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय