नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नो बोझ आफैं सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुन लागेको बताउनु भएको छ । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको पनी बताउनु भयो ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको प्रचण्डले आरोप लगाउदै अहिलेको सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि निर्माण भएको दावी गर्नुभयो । प्रचण्डले कुलमान घिसिङ लगायतका व्यक्तित्वहरुलाई हटाएर गलत क्रियाकलाप संचालन गरेको बताउनुभयो । प्रचण्डले भन्नू भयो,देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ ।



झापाबाट सुरु गरिएको तराई–मधेश हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह पैदा गरेको उनले दाबी गर्नुभयो ।पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध व्यापक अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो । तर अहिले भूमाफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौंको लुटतन्त्र चलाएको आरोपसमेत लगाउनु भयो । किसानहरूको हितमा सरकारले ठोस काम गर्नुपर्नेमा जोड दिँदै उहाले,भन्नुभयो किसानलाई मुख्य प्राथमिकता नदिई देशको समृद्धि सम्भव छैन ।
भारतसँग सम्बन्ध सुदृढ गर्न आफूले खेलेको भूमिकालाई स्मरण गर्दै दाहालले चीन भ्रमणका क्रममा बन्द रहेका नाकाहरू खोल्नसम्बन्धी सम्झौता गरेको पनि जानकारी दिनुभयो । अध्यक्ष दाहालले देशमा स्थायित्व र समृद्धिको लागि राजनीतिक शुद्धता र इमानदारी आवश्यक रहेको स्पष्ट पार्नु भयो ।



